नेपाली कांग्रेसका नेता शेखर कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्यहरूले उपत्यकास्तरीय विद्यार्थी भेला गरेका छन्।
पूर्वकोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्य प्रेमिका राना मगर, भुवन भट्ट, विनोद शाही ठकुरीलगायतले काठमाडौंको आरआर क्याम्पसमा बुधबार स्ववियु निर्वाचन तयारी भेला गरेका हुन्।
भेलालाई नेविसंघ पूर्वअध्यक्षहरू गुरूराज घिमिरे र रञ्जित कर्ण, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की लगायतले सम्बोधन गरेका छन्।
भेलामा काठमाडौं उपत्यकाभित्रका विभिन्न विश्वविद्यालय, आंगिक क्याम्पसका स्ववियु सभापति, पदाधिकारी र विद्यार्थीहरू सहभागी थिए।
‘चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि हामीले तयारी गरेको हो,’ केन्द्रीय सदस्य भुवन भट्टले सेतोपाटीसँग भने।
कार्यक्रममा बोल्दै नेता गुरूराज घिमिरेले तोकिएको समयमै स्ववियु निर्वाचन हुनुपर्ने बताए।
‘कसैसँग तालमेल नगरी नेविसंघ स्ववियु निर्वाचनमा जानुपर्छ, नेताका नजिक भएका भरमा टिकट लिनेदिने गर्नु हुँदैन, अन्याय भए प्रतिवाद गर्नुपर्छ,’ उनले भने।
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले संघभित्र विचार समूहका नाममा काखापाखा गरिए अन्यायका विरूद्ध बोल्नुपर्ने बताए। ‘तपाईंहरू स्ववियु तयारीमा जुट्नुस्, हामी संरक्षण गर्छौं,’ उनले भने।
भेलामा २५ कलेजका विद्यार्थीले प्रतिनिधिमुलक रूपमा धारणा राखेका थिए।