अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजापट्टी स्वामित्वमा लिने भनेपछि हमासले त्यसबारेमा प्रतिक्रिया जनाएको छ।
गजामा युद्धविराम भएर बन्दी रिहाइको प्रक्रिया जारी रहेको अवस्थामा मंगलबार इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गजा अमेरिकाले स्वामित्वमा लिने र त्यहाँ भग्नावशेष हटाएर विकास निर्माणको काम गर्ने बताएका थिए।
ट्रम्पको उक्त भनाइलाई हमासका उच्च अधिकारी सामी अबु जुहरीले हास्यास्पद र बेतुकको भनेका छन्। यसले गजामा फर्किएको शान्ति भंग गर्ने र पुनः तनाव सिर्जना गर्ने उनले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ।
'गजाका जनताले ट्रम्पको उक्त प्रस्तावलाई अगाडि बढ्न दिने छैनन्। हाम्रा नागरिकहरूलाई निस्कासन गर्ने होइन, आक्रमणको र कब्जा अन्त्य हुनुपर्छ,' हमासले टेलिग्रामबाट सार्वजनिक गरेको सन्देशमा भनेको छ।
ट्रम्पले इसराइली आक्रमणबाट खण्डहर बनेको गजा अमेरिकाले स्वामित्वमा लिएर त्यहाँ रहेक हतियारहरू नष्ट गर्ने र विकास निर्माणका काम सुरू गर्ने बताएका थिए।
उनले यथास्थितिमा प्यालेस्टिनीहरूलाई गजामा नफर्कन पनि आग्रह गरेका थिए।
'गजा खण्डहर बनेको छ। बस्नका लागि उचित भइसकेको छैन। किन मानिसहरू फर्किरहेका छन्। बरू मध्यपूर्वकै अन्य देशहरूमा बस्नु उनीहरूका लागि राम्रो हुनेछ,’ ट्रम्पले भनेका थिए।
राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले गजामा युद्धविराम र बन्दी रिहाई समेत प्रभावित हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो पनिः इसराइली प्रधानमन्त्रीलाई सँगै राखेर ट्रम्पले भने- गजाको स्वामित्व अमेरिकाले लिन्छ