अनौपचारिक भ्रमणका लागि नेपाल आएका बेलायतका राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड र उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी मंगलबार काठमाडौं आएका थिए। उनीहरूले मंगलबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग छलफल गरेका हुन्।
सो क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए।
‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
पूर्वब्रिटिश गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको “द्विपक्षीय संयन्त्र” मा सकारात्मक छलफल भइरहेकै छ भन्ने विश्वास पनि राष्ट्रपति पौडेलले सो अवसरमा व्यक्त गरेका थिए।
नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले बताए। सो अवसरमा राजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरेका थिए।