रवि लामिछाने लगायत १५ जना र ६ वटा संस्थाविरूद्ध साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन सम्बन्धी पूरक मुद्दा मंगलबार जिल्ला अदालत चितवनमा पेस गरिएको छ।
साहारा सहकारीको रकम अपचलन कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने सहितका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा पेस गरेको हो।
सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गत असोजमै अदालतमा मुद्दा दायर गरिसकेको थियो।
सहकारी संस्थाको वचत रकम अपचलन गरेको जाहेरीमा प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी रवि सहितलाई ठगी कसुरमा पूरक मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता शान्तिराज लुइँटेलले जानकारी दिए।
उनका अनुसार ३२ जना प्रतिवादीहरूमध्ये १२ जनालाई ठगीसँगै संगठित अपराध कसुरमा पनि मुद्दा दायर गर्न पेस गरिएको हो।
साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र छविलाल जोशी गोरखा मिडियाका सञ्चालक हुन्। अन्य जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा शेयरधनी हुन्।
पूरक मुद्दामा लामिछाने, जोशी सहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो।
साहरा चितवन सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।
सरकारी वकिलको कार्यालयले कम्पनीमा लगानी गरिएको रकम ऋण ४३ करोड १४ लाख ४९ हजार ९२८ रुपैयाँ बिगो दावी गरेको छ।
साहारा सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ छन्। कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
पहिले साहारा सहकारीका ४ सय ४६ जना बचतकर्ताले प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गरिएको थियो। प्रहरीले त्यो सहित थप १० निवेदनको आधार पुरक प्रतिवेदन तयार पारेको हो। उनीहरूको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ बचत रहेको छ।
अनुसन्धानबाट साहारा सहकारीको कुल दायित्व पुँजी ६५ करोड १६ लाख ७१ हजार ७१२ रुपैयाँ देखिन्छ। सहकारीले कर्जा लगानी गरी फिर्ता लिन बाँकी रकम ५६ करोड २२ लाख ५० हजार ११५ रुपैयाँ देखिएको छ।
सहकारीले ११८ जना वबतकर्तामा ७ करोड २८ लाख १६ हजार ३१२ रुपैयाँ ऋण लगानी गरेको थियो।
साहारा चितवन सहकारीका एक मुख्य र दुई शाखा कार्यालयका थिए।