नेपालमा मंगलबारदेखि पाठेघर मुखको क्यान्सरविरूद्ध खोप अभियान सुरू भएको छ।
विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि एचपिभी खोप अभियान सुरूवात गरेको हो।
महाराजगञ्जस्थित शिवपुरी माविमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले एचपिभी खोप अभियान शुभारम्भ गरेका हुन्।
खोप अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ।
कक्षा ६ देखि कक्षा १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १७ लाख जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले खोप नि:शुल्क लगाउन लागेको हो।
खोप लगाउन कहाँ-कहाँ पाइन्छ?
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार सरकारी र निजी गरी करिब १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको छ।
अभियान समयभित्र (मंगलबारदेखि फागुन ६ गतेसम्म) आफू पढ्ने विद्यालय वा नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पाइन्छ।
सरकारले पाठेघरको मुखमा क्यान्सर हुने जोखिम निकै हदसम्म नियन्त्रण गर्न यो खोप लगाउने अभियान सञ्चालन गरेको हो।
डा. गौतमका अनुसार पहिलो चरणको खोप अभियान विद्यालय केन्द्रित हो। कम्तीमा १९ हजार विद्यालयमा पुग्ने योजना छ।
विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीका लागि अलग्गै सेसन (शिविर) हुनेछ। विद्यालयमै बोलाएर वा स्वास्थ्य संस्थाबाट समेत खोप दिन सकिन्छ।
कुनै किशोरी विद्यालय नगएर खोप छुटेको पनि हुन सक्छ। यसरी छुटेका र विद्यालयबाहिर रहेका किशोरीका लागि विद्यालयबाहिर आठ हजार खोप सेसन हुनेछन्। जसरी पनि शतप्रतिशत किशोरीलाई खोप दिने लक्ष्यमा सरकार छ।
यो खोप दिनुपर्ने उमेर समूहमा १६ लाख ८८ हजार किशोरी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। हाल सरकारसँग १७ लाख ७० हजार २० मात्रा खोप छ। यो खोप देशभर पठाइएको छ।
कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीलाई खोप लागाउनुका कारण
विद्यालयहरूले उपलब्ध गराएको तथ्यांकअनुसार ६ कक्षामा पढ्ने अधिकांश छात्राको उमेर १० वर्ष हुने देखिन्छ। यो आधारमा १० कक्षामा पढ्नेको उमेर १४ वर्ष हुने रहेछ।
छात्राको उमेर १०–११ वर्ष छ तर पढाइ पाँच कक्षामा छ भने यस्ता छात्राले खोप पाउँछन् कि पाउँदैनन्? यस्ता छात्राले अर्को वर्ष पाउँछन्। हरेक वर्ष ६ कक्षामा पढ्ने छात्रालाई एचपिभी खोप लगाउने सरकारको तयारी छ।
विश्व स्वास्थ्य संगठनले एचपिभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्रभावकारी हुन्छ भनेको छ।
अहिलेको मापदण्डमा एक पटकको खोपले जीवनभर काम गर्छ भन्ने मानिएको छ। पाठेघरको मुखको क्यान्सर रोकथाममा एचपिभी खोप सबैभन्दा बढी प्रभावकारी देखिएको छ।
व्यक्तिगत रूपमा किनेर लगाउने हो भने एक खोपको मूल्य साढे ६ हजार रुपैयाँ पर्छ।
सरकारले लगाएको खोप विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप हो।
यो पनि: पाठेघरको मुखको क्यान्सरविरूद्ध खोप लगाउन नबिर्सिनु है!