गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।
कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन्।
गृहमन्त्री लेखकको सचिवालयले दिएको जानकारीअनुसार पाथीभरा केबलकार निर्माणबारे उत्पन्न विषयमा गृहमन्त्री लेखकले कांग्रेसका जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन्।
यसअघि गत माघ १५ गते गृहमन्त्री लेखकले ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदसँग छलफल गरेका थिए।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे उनले सांसदहरूसँग छलफल गरेका थिए।
पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।
सरकारले पाथीभरा केबलकारका विषयमा संवाद गर्न वार्ता समिति बनाएको छ भने नो केबलकार समूहले पनि सरकारसँग वार्ता गर्न समिति बनाएका छन्। उनीहरूबीच सोमबार वार्तासमेत भएको थियो।