मोरङको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि जेल चलान भएका छन्।
आइतबार मोरङ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतले उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमति अन्जला कोइरालासहितको नाम सहकारीको रकम अपचलनमा जोडिएको थियो।
न्यायाधीश अरूणकुमार झाको एकल इजलासले सहकारीका अध्यक्ष रौनियारलाई पूर्वक्षका लागि थुनामा पठाउने आदेश दिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार अदालतको आदेश लगत्तै रौनियारलाई कारागार चलान गरिएको छ।
माघ १४ गते मोरङ जिल्ला अदालतमा हाजिर भएका अध्यक्ष रौनियारलाई अभियोजनका क्रममा प्राप्त भएको प्रमाणका आधारमा थप अनुसन्धानबाट ठहर हुने गरी पूर्पक्षका लागि जेल चलान गरिएको हो।
सहकारीको बचत रकम र ऋणीको ऋण समेत अपचलन गरेको आरोपमा उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारसहित २६ जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंसिर २७ मा मुद्दा दायर गरेको थियो।
फरार रहेका अध्यक्ष रौनियारसहित अदालतमा हाजिर भएका ८ जना मध्ये ६ जना धरौटीमा छुटेका छन्।
धरौटी बुझाएर छुट्नेमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि हुन्। उनीसँग अदालतले १० लाख धरौटी माग गरेको थियो। सोही मुद्दामा रंगेली वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास ५ लाख धरौटीमा छुटेका छन्। धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पूर्पक्षका लागि कारागार चलान भएका छन्।
२६ जनामाथि सहकारीको रकम हिनामिना गरेको आरोपमा २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको थियो।
पछिल्लो पटक अदालत हाजिर भएका अध्यक्ष रौनियार भने सहकारीको कार्यालय नै बन्द गरी कागजात समेत लुकाएर बसेका थिए।