'मिलेर मिलाएर देश दुनियाँको जे पनि खानी
त्यस्ता खन्चुवासँग किन सम्बन्ध राख्छौं जानी नजानी
लोभी पापीको के आशा जनता बिग्रे पनि सुध्रिन्न बानी
मिलेर मिलाएर देश दुनियाँको जे पनि खानी
न बिग्रिनी न सुध्रिनी, कहिले सुध्रेला यो दुनियाँको बानी'
लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा सोमबार प्रदेश राजधानी देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले वाचन गरेको व्यङ्ग्यात्मक कविताका हरफ हुन् यी।
स्थापना दिवसका प्रमुख अतिथि रहेका प्रदेश प्रमुख घर्तीले व्यङ्ग्यात्मक शैलीमा कविता वाचन गर्दै काम नगरी सत्तामा बसेर भत्ता खानेहरूको विरोध गरे।
प्रदेश प्रमुख घर्तीले जनप्रतिनिधिहरू जनताको सेवकको रूपमा रहेकोले आफूलाई जनताभन्दा माथि नठान्न आग्रह गरे।
‘यो जनताको शासन हो। यहाँ जनता नै जनार्दन हुन्,’ उनले भने,‘जनताको लागि काम गर्न आएकाहरूले जनभावना अनुसार नै कामकारबाही अघि बढाउनुपर्छ।’
संघीय शासन व्यवस्थामा सबभन्दा माथि जनतालाई राख्नुपर्ने भन्दै जनता बलियो भए मात्रै संघीय शासन व्यवस्था बलियो हुने बताए।
उनले जनताहरू संवैधानिक देशका मालिक भएको र उनीहरूलाई सत्तामा बसेकाहरूले सेवा गर्नुपर्ने र पुज्नुपर्ने बताए।
जनताका अगाडि झुकेर भोट मागेकाहरू जनताका नोकर भएको उनले बताए।
‘भोट दिने बेलामा मालिक सम्झिएर झुकेर भोट मागेकाहरूले भोट गणनापछि तिनै मालिकलाई रैती बनाउने गरेका छौं, मालिकलाई रैती बनाउन हामीले खोजेको हैन तर, त्यसका लागि जनतामा पनि चेतना पनि जरूरी छ,’ घर्तीले भने।
प्रदेशलाई कस्तो बनाउने भन्ने भूमिका सत्ता, शक्ति शासन र सम्पत्ति हातमा हुनेहरूमा निर्भर रहने भन्दै जनताको शिक्षा र स्वास्थ्य कस्तो बनाउने भन्ने जिम्मेवारी सत्तामा बसेकाहरूले लिनुपर्ने बताए।
प्रदेश प्रमुख घर्तीले सत्तामा बाहिर रहेका मात्र होइन सत्तामै रहेकाहरूको पनि मन नमिलेको बताए।
‘स्थापना दिवसलाई प्रदेशको पर्वको रूपमा मनाउँदै गर्दा सँगै सत्तामा बसेर भत्ता खानेहरूको मन मिलेको छ कि छैन त्यो मनन गर्नुपर्छ,’ उनले भने।
आफू प्रदेश प्रमुख भएर प्रदेशलाई नियालिरहँदा लुम्बिनी प्रदेश अरू ६ वटा प्रदेशभन्दा फरक पाएको बताए।
‘लुम्बिनीका राजनीतिक दलका नेताहरूमा ज्यानै फालेर प्रतिस्पर्धा गर्ने बानी र सबभन्दा सानो दल भए पनि सबभन्दा ठूला कुरा गर्ने बानी छ, जुन अरू प्रदेशमा पाइँदैन,’ लुम्बिनीमा जस्तो धार्मिक रूपमा सशक्तता अन्य प्रदेशमा नभएको भन्दै उनले यहाँका सबल पक्षलाई लिएर अगाडि बढ्न सके प्रदेशको मात्र नभई राजनीतिक दल र राजनीतिककर्मीहरूको विकास हुने बताए।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले प्रदेशलाई बलियो र स्थापित बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्ने बताएका थिए।
उनीहरूले प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।
प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदाहरण दिन सफल भएको दाबी गरे।
उनले प्रदेश तहमा अझै धेरै कानुनहरू तर्जुमाको चरणमा रहेको र संघीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताए।
प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने बताए।
‘वास्तविक संघीयताको अभ्यास गर्ने थलो प्रदेश तह हो,’ उनले भने, ‘संघीय शासन प्रणालीलाई वास्तविक रूपमा आत्मसाथ गर्न जरूरी छ।’
नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताए।
‘गाली हामीले खानुपर्ने, अधिकार काठमाडौंमा राख्नुपर्ने,’ उनले भने, ‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो तर, अझै अधिकारमाथि नै रह्यो’ प्रदेशलाई बलियो बनाउने हो भने अधिकार सम्पन्न बनाइनुपर्ने उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बीचमा साझा प्रतिबद्धता चाहिने बताए।
अर्का पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफूलाई अब्बल सावित गर्न अझै ऐतिहासिक कामहरूलाई अघि बढाउन आवश्यक रहेको बताए।
नेकपा एमाले संसदीय दलका उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरूरी रहेको भन्दै राजनीतिक अस्थिरता हटाउँदै प्रदेशलाई विकासको लयमा अघि बढाउन सफल प्रयासको थालनी भएको बताए।
प्रदेशको स्थापनाको आठौं स्थापना दिवसको अवसरमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयहरू स्टल राखेर सरकारले गरेका काम सार्वजनिक गरेका थिए।