ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणको विपक्षमा रहेका आन्दोलनकारीहरूले सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन्।
सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनकारीका तर्फबाट ‘मुक्कुमलुङ संरक्षक संस्थाका तर्फबाट वार्ता समिति गठन गरेको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।
अमर तुम्याहाङको संयोजकत्वमा गठित वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शंकर सुब्बा सदस्य छन्।
पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद जारी छ।
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम अघि बढेपछि त्यसको विरोधमा उत्रिएको ‘नो केबलकार’ समूह र प्रहरीबीच अघिल्लो शनिबार भएको झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए।
झडपका क्रममा गोली लागेको भनिएका दुई आन्दोलनकारीसहित तीन जनालाई आइतबार विराटनगर विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रकमार्फत् थप उपचारका लागि काठमाडौं लगिएको थियो।
गएको शनिबार बेलुका ६ बजेपछि भएको झडपमा कम्तीमा १९ प्रहरी घाइते भएका थिए।
उक्त घटनामा तेह्रथुमको म्याङलुङ बजारका ३६ वर्षीय यामबहादुर लिम्बूको तिघ्रा र पाँचथरको मिक्लाजुङका १८ वर्षीय सगुन लावतीको कुममा प्रहरीले चलाएको गोली लागेको थियो।
झडपका क्रममा भिरबाट लडेका ताप्लेजुङ बस्ने धर्म पालुङ्वाको कुम (ब्यूटी बोन) मा चोट लागेका कारण उनी पनि गम्भीर छन्।
फुङ्लिङ नगरपालिका–११ मा केबुलकारको संरचना निर्माण कार्य सुरू भएपछि घरेलु हातहतियारसहित ठूलो संख्यामा रहेको आन्दोलनकारी समूहले बलजफ्ती गरेको र खटिएका प्रहरी अधिकृतहरूमाथि समेत अन्धाधुन्ध आक्रमण गरेको प्रहरीको दाबी थियो।
आन्दोलनकारी पक्षले भने आफूमाथि बल प्रयोग भएपछि झडपको अवस्था बनेको दाबी गरेका थिए।
सोही घटनाको विरोधमा आन्दोलनरत विभिन्न संघसंस्थाहरूले मेची राजमार्ग र तमोर करिडोरको सडकमा अनिश्चितकालका लागि यातायात बन्दको घोषणा गरेका छन्। वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्न तयार रहेको बताए पनि समितिले बन्द फिर्ता भने लिएको छैन।