प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।
सोमबार श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्पेरियल वर्ल्ड स्कुलले आयोजित ‘युवा अन्तर्क्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे।
‘विदेश गएर नेपाली युवाले अरूका देश बनाएका छन्। अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ। हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन्। त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ,’ उनले भने, ‘यस देशबाट गरिबी समाप्त पार्नुपर्छ। देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनााउनुपर्छ।’
प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीहरूलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिए।