उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयकाे स्तर सुधारका लागि गरेकाे प्रयासकाे परिणाम देखिन थालेकाे बताएका छन्।
साेमबार काठमाडौंको पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयकाे ७७ औं वार्षिकाेत्सव समाराेहमा बोल्दै उनले काठमाडौं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएकाे बताए।
२०६४ सालमा संविधानसभाकाे निर्वाचनबाट काठमाडौं १ मा निर्वाचित भएदेखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको उनको दाबी छ।
‘काठमाडौं १ मा पर्ने सबै सामुदायिक विद्यालयकाे स्तर सुधार्न तीनै तहकाे सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दाे काम गरेका छाैं। हाम्राे निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजीभन्दा कम छैन। राम्राे नतिजा सुन्न पाउँदा खुशी लागेकाे छ,´ उनले भने।
उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने बताए।
गुणस्तर शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्राे गरिरहेकाे उनको भनाइ थियो।