नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेताहरूले मञ्चमा सवालजवाफका रूपमा दोहोरी गर्न नहुने बताएका छन्।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र पार्टी गण्डकी प्रदेशको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उपसभापति खड्काले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका हुन्।
‘मञ्चमा कांग्रेसका नेताहरूले आपसमा दोहरी बन्द गर्नुपर्यो, कुनै पनि नेतालाई प्रश्न गर्दै मञ्चमा भाषण गर्दै हिँड्न भएन,’ उनले भने, ‘मञ्चमा एकता, केही समस्या छन् भने कोठाभित्र बहस गर्नुपर्छ। म त यसका लागि तयार छु।’
उनले २०८१, ०८२ र ०८३ का अभियान पार्टीले सञ्चालन गरेमा ०८४ को आमचुनावमा एक्लै बहुमत आउने पनि बताए।
‘तीन वर्षे अभियान सफल भएपछि स्थानीय, प्रदेश र संघीय चुनावमा एक्लै बहुमत आउँछ,’ उनले भने, ‘बहुमत आउन रोक्यो भने वर्षौंदेखिको अन्तरघात अपराधले रोक्छ।’
अन्तरघात कांग्रेसको महारोग भएको उनको भनाइ छ। गएको चुनावमा प्रदेशका ४० ठाउँमा र संघका ३० ठाउँमा अन्तरघातकै कारण पार्टी उम्मेदवार हारेको खड्काको भनाइ छ।