राष्ट्रिय सभा सांसद नारायणदत्त भट्ट बिरामी भएका छन्।
आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिन गएका भट्टको स्वास्थ्यमा एक्कासि समस्या देखिएको हो।
दलीय आधारमा राष्ट्रिय सभामा आइतबार सांसदहरूले बोल्ने कार्यक्रम छ। कांग्रेसका तर्फबाट सांसद भट्टले बोल्न नाम टिपाएका थिए।
शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। चक्कर लागेका भट्टलाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठ लगायतले डोहोर्याउँदै बैठक कक्ष बाहिर लगेका थिए।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भट्टको स्वास्थ्य अवस्थाबारे बैठकमै सोधखोज गरेका छन्।
भट्टको स्वास्थ्यमा समस्या देखिएपछि उनको सट्टामा बोल्न कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटालाई समय दिइएको छ।
भट्टलाई संघीय संसद भवन परिपरमै उपचार गराइएको छ।