हमासले थप तीन जना बन्धक छाडेको छ।
शनिबार बन्धकमुक्त हुनेहरू तीनै जना पुरूष छन् भने सबै इसराइलका हुन्।
यो साता हमासले दोस्रो पटक बन्धक रिहा गरेको हो। हमासले बन्धकमुक्त गर्नेको सूची शुक्रबार नै कतार र इजिप्टमार्फत इसराइललाई दिएको थियो।
टाइम्स अफ इसराइलका अनुसार ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस छन्।
सेइगल अमेरिकी मूलका इसराइली हुन्। २०२३ को अक्टोबर ७ मा उनलाई किब्बुज काफर अजाबाट हमासले बन्धक बनाएर गजा पुर्याएको थियो। त्यतिबेला उनकी श्रीमती अविवालाई पनि हमासले बन्धक बनाएको थियो।
अविवा नोभेम्बरको युद्धविराममा बन्धकमुक्त भइसकेकी छन्।
कलडेरन किब्बुज निर ओजबाट दुई बच्चाबच्चीसहित अपहरणमा परेका थिए। उनका दुई बच्चाबच्चीलाई हमासले यसअघि नै बन्धकमुक्त गरिसकेको छ।
हमासले बिबससँगै उनकी श्रीमती सिरी तथा दुई सन्तानहरू एरिल र कफिरलाई पनि बन्धक बनाएर गजा पुर्याएको थियो। विवसका श्रीमती र दुई छोरा इसराइली आक्रमणमा परी मृत्यु भएको हमासको दाबी छ।
हमासले बन्धक छाडेसँगै इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनीहरूलाई कैदमुक्त गर्नेछ।
आज रिहा हुने बन्धकसहित हमासले रिहा गरेको बन्धकको संख्या १८ जना पुगेको छ। यसअघि युद्धविराम भएको दिन माघ ६ गते हमासले तीन बन्धक छाडेको थियो।
त्यसको एक सातापछि चार जनालाई बन्धकमुक्त गरेको थियो। बिहीबार ८ बन्धक छाडेको थियो।
४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरूक कैदमुक्त हुनेछन्।
हमासले सर्तअनुसार नै लगातार बन्धक रिहा गरेपछि इसराइली सरकारलाई युद्धविरामको दोस्रो चरणको छलफलका लागि दबाब परेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।