हमासले शनिबार तीनजना बन्धक रिहा गर्दैछ।
यो साता हमासले दोस्रो पटक बन्धक रिहा गर्न लागेको हो। हमासले बन्धकमुक्त गर्नेको सूची शुक्रबार नै कतार र इजिप्टमार्फत इसराइललाई दिइसकेको छ।
यसपटक बन्धकमुक्त हुने तीन जना पुरूष छन्।
टाइम्स अफ इसराइलका अनुसार ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस छन्।
इसराइली अधिकारीहरूले उनीहरू बन्धकमुक्त हुन लागेको खबर उनीहरूका परिवारलाई दिइसकेको छ।
सेइगल अमेरिकी मूलका इसराइली हुन्। २०२३ को अक्टोबर ७ मा उनलाई किब्बुज काफर अजाबाट हमासले बन्धक बनाएर गजा पुर्याएको थियो। त्यतिबेला उनकी श्रीमती अविवालाई पनि हमासले बन्धक बनाएको थियो।
अविवा नोभेम्बरको युद्धविराममा बन्धकमुक्त भइसकेकी छन्।
कलडेरन किब्बुज निर ओजबाट दुई बच्चाबच्चीसहित अपहरणमा परेका थिए। उनका दुई बच्चाबच्चीलाई हमासले यसअघि नै बन्धकमुक्त गरिसकेको छ।
हमासले बिबससँगै उनकी श्रीमती सिरी तथा दुई सन्तानहरू एरिल र कफिरलाई पनि बन्धक बनाएर गजा पुर्याएको थियो। विवसका श्रीमती र दुई छोरा इसराइली आक्रमणमा परी मृत्यु भएको हमासको दाबी छ।
आज रिहा हुने बन्धकसहित हमासले रिहा गरेको बन्धकको संख्या १८ जना पुग्नेछ। यसअघि युद्धविराम भएको दिन माघ ६ गते हमासले तीन बन्धक छाडेको थियो।
त्यसको एक सातापछि चार जनालाई बन्धकमुक्त गरेको थियो। बिहीबार ८ बन्धक छाडेको थियो।
यो साता दुई पटक हमासले बन्धक छाड्नेछ। उसले शनिबार पनि बन्धकहरू रिहा गर्ने बताइएको छ। हमासले बन्धक रिहा गर्दा इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई कैदमुक्त गर्नेछ।
४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरूक कैदमुक्त हुनेछन्।
नेपालका विपिन जोशी पनि हमासको बन्धकमा छन्। पहिलो चरणको युद्धविराममा इसराइलका नागरिकहरू छाड्ने सम्झौता भएपनि बिहीबार थाइल्याण्डका बन्धकहरू पनि छाडिएपछि विपिन रिहा हुने सम्भावना पनि बढेको छ।
इसराइली मिडिया रिपोर्टहरूले विपिन जोशी जिवितै रहेको खुलाएका थिए।