नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधेयक र अध्यादेशका अन्तरवस्तु (कन्टेन्ट) हेरेपछि आफूहरूले सरकारमै भएका बखत पनि विरोध गर्ने गरेको बताएका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गरिन्छ। सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रिय सभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रुपमा बोल्छु।’
उनले अध्यादेश भन्नेबित्तिकै गलत नै हुन्छ भन्ने कुरा सही नभएको पनि बताए। अध्यादेशको कन्टेन्टको आधारमा विरोध र समर्थन गर्नुपर्ने उनको भनाइ छ।
‘अध्यादेश हो भन्नेबित्तिकै गलत हुँदैन। विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन। अध्यादेश विगतमा हामीले विरोध गरेका थियौँ, अहिले बोलेन भन्ने कुरा पनि छ। विगतमा कांग्रेसले अध्यादेशको विरोध गरेको उदाहरण पनि छ। कांग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ,’ उनले भने, ‘कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गरिन्छ।’
(न्युज एजेन्सी नेपाल)