जनमत पार्टीका अध्यक्ष सिके राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले साँचो बोक्ने हुँदा संसद सुचारू हुन ढिलाइ हुने गरेको बताए।
‘संसद किन खुलिरहेको छैन भनेर सोच्दा हामी त शक्ति पृथकीकरण भन्छौँ। व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्न सक्ने भनेर मान्छौँ तर यहाँ हुँदा के रहेछ भने संसदको पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ,’ राउतले भने।
सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारू नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ।
‘सरकारले नै संसदको पनि साँचो राखिदिएपछि र संसद पनि सरकारले चलाएपछि बल्ल चल्ने, नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कामर्यक्रम भए नचल्ने हो भने पुनःविचार गर्नुपर्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)