नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली बूढीगण्डकी जलविद्युत आयोजनाको विरोधी हुनसक्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले बूढीगण्डकीको सबै सर्भे र प्रक्रिया सकिएपनि काम सुरू नगरिएको विषयलाई लिएर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन्।
'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँ बुढीगण्डकी आयोजनाको विरोधी हो भनौं?,' उनले भने, 'होइन भने त्यो आयोजना तुरून्त सुरू गर्न किन नसक्ने? त्यसैका लागि भनेर पैसा जम्मा गरिएको छ।'
उनले त्यसबारेमा केही समयभित्र निर्णय नभए आन्दोलन गर्ने चेतावनी समेत दिए।
'केही समयभित्रमा निर्णय भएन भने धादिङ र गोर्खाका जनताहरूको तर्फबाट हामी राष्ट्रिय राजमार्ग छेकेर भएपनि कहिलेदेखि यो आयोजना बनाउन सुरू गर्छौ टुंगो गर भन्छौं,' उनले भने।