नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सुशासनका मामिलामा सरकार जसरी जानुपर्ने हो त्यसरी नगएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी संसदीय दलका तर्फबाट बोल्दै पाण्डेले दुई ठूला दलहरू मिलेर बनेको सरकारले भ्रष्टाचारको विरूद्धमा जसरी काम गर्नुपर्ने हो त्यसरी नगरेको बताएका हुन्।
यद्यपि प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्नु सकारात्मक रहेको उनको भनाइ थियो।
'भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्नुभयो। त्यो ठीक छ,' उनले भने, ' तर भुटानी शरणार्थी लगायत हालसम्म आएका विभिन्न काण्डहरू जति भइरहेका छन् तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन?'
भ्रष्टाचारविरूद्धका विषयमा सरकारले बोलेर भन्दा गरेर देखाउनुपर्ने उनको भनाइ छ। 'बोल्ने कुरा होइन। जनताले हेरेर, देखेर पुर्याउने कुरा गर्नुपर्यो,' उनले भने।
सरकारले सत्तापक्षलाई काखा र प्रतिपक्षलाई पाखा गरेको पनि उनले बताए।
'कुनै कुरामा सत्तापक्ष भयो वा सत्तापक्षको पार्टीहरू भयो भने काखामा राख्ने नभए पाखामा राख्ने होइन। सरकार सबैको हो,' उनले भने।