प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान संशोधनको प्रस्ताव तय गर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी स्पष्ट छौं, पार्टीहरूका आ–आफ्नै धारणा र पोजिसन हुनसक्छन्। मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने छ। संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस र छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ।’
कांग्रेस र एमालेबीच गत असार १७ मा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका कुरा पनि समावेश थिए।
प्रधानमन्त्री ओलीले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गर्ने पनि बताए।
राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने उनको भनाइ छ।
‘यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ। त्यससँगै सरकारपक्षीय दलहरूसँगको छलफल गरिनेछ। विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ र, पहिचान गरिएका विषयहरुमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरु र सरोकारवालाहरुसँग छलफल गरिने छ,’ उनले भने।