प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले सरकारको आयुलाई लिएर व्यर्थमा समय खेर फालेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आजै ढल्छ भोलि ढल्छ भनेर व्यर्थैमा समय खेल फालेको बताएका हुन्।
‘ढलेँ-ढलेँ भन्ने गीत बजारमा अलि प्रचारमा छ। त्यस्तै प्राय: राजनीतिक नेताहरूले गाएको सुन्छु। ढल्यो, ढल्यो, ढल्यो… आज ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो, राति ढल्यो, ढल्यो, ढल्यो,' प्रधानमन्त्री ओलीले भने, 'यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरुमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन।'
यद्यपि उक्त गीत श्लील नभएको टिप्पणी आएकाले त्यस्तो गीतलाई नक्कल नगर्न समेत नेताहरूलाई आग्रह गरे।
'यस्ता गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ। राजनीतिका मञ्चमा बन्द गरे हुन्छ। किनभने ०८४ सम्म सरकार टसमस हुँदैन,' प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले सरकार बनाउने र हटाउने थलो संसद नै भएकाले दिनरात सरकार परिवर्तनको हल्ला आगामी तीन वर्षमा देश र जनताका लागि फाइदा नहुने बताए।
'बरू दैलेखमा उत्खनन् सफल भएको इन्धनको कुरा गर्नुस्। नागढुंगाको सुरूङमा कहिले यातायात चल्छ भन्ने प्रश्न गर्नुस्। भर्खरै ब्रेकथ्रु भएको किमाथांका-जोगबनी सडकले चीन र भारत जोडिँदा के फाइदा हुन्छ त्यसको कुरा गर्नुस्। सरकारको म्युजिकल चेयर गेमभन्दा त जनताको जीवनमा त्यसले पो अर्थ राख्ला कि,' प्रधानमन्त्री ओलीले भने।