राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रतिपक्षी दलहरूको पनि प्रतिपक्षी भएको बताएका छन्।
न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा विपक्षी दलहरूको छलफलले केही रणनीति बनाएको छ भन्ने प्रश्नमा जबाफ दिएका अध्यक्ष लिङ्देनले संसदमा आ-आफ्नो धारणा प्रस्तुत हुने बताएका हुन्।
तर प्रतिपक्षी दलहरूबीच एजेन्डामा आधारित सहकार्य र छलफल भने हुने उनले बताए।
‘प्रतिपक्षी दलहरुले छुट्टै बसेर छुट्टै रणनीति बनाउनुपर्छ भन्ने छैन,’ लिङ्देनले भने, ‘स्वाभाविक रूपले हामी प्रतिपक्षमा छौं र प्रतिपक्षी कित्तामा भएको पार्टीको नाताले प्रतिपक्षीहरूसँग इस्युबेस सहकार्य र छलफल हुनसक्छ।’
उनले कुनै विषय आएका बेला प्रतिपक्षी दलहरूबीच छलफल हुन सक्ने बताए।
‘कुनै विषय आएका बेला बसेर छलफल गर्छौं नत्र भए आ—आफ्नो पार्टीको धारणा संसदमा प्रस्तुत गर्ने हो,’ लिङ्देनले भन, ‘राप्रपा त फेरि प्रतिपक्षीहरूको पनि प्रतिपक्षी हो। त्यसकारण हाम्रो अलिक फरक ढंगको प्रस्तुती हुनेछ।’
राप्रपा पनि प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएको थियो।
अध्यक्ष लिङ्देनले पार्टीले अब सडक र संसदको दुवै मोर्चालाई सशक्त रूपमा उपयोग गर्ने पनि बताए।
‘अब हामी चाँडै पार्टी संसदीय दलको बैठक पनि बस्छौं र जसरी विगतमा राप्रपाले संसदको उपयोग गरेको थियो त्यसलाई अझै सशक्त र प्रभावकारी ढंगले उपयोग गर्नेछौं। अधिवेशनमा पार्टीको प्रभावकारी रूपमा उपस्थित हुन्छ,’ उनले भने।
विधेयक निर्माणको प्रक्रियामा पनि मसिनो ढंगले जनताको पक्षमा हुने गरी काम गर्ने उनले बताए।
‘विधेयकलाई टुंग्याउने र ठिक ढंगले आफ्नो धारणा राख्ने काम गर्छौं र छलफलमा आफ्नो धारणा राख्छौं भने देशको समसामयिक विषयवस्तुमा र जनताका मुद्दामा समेत हामी प्रखर रूपले प्रस्तुत हुन्छौं,’ उनले भने।
संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार दिउँसो १ बजेदेखि सुरू हुँदैछ।