राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन स्वीकार्य नहुने बताएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका कतिपय व्यवस्थामाथि विरोध गरेको हो।
‘वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन स्वीकार्य हुने छैन। सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिई यसका प्रत्यक्ष र परोक्ष सरोकारवालाहरूसँगको परामर्श तथा संवैधानिक मूल्य–मान्यता अनुरूप पुनर्लेखन गर्न आग्रह गर्दछौं,’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ। विधेयकले अभिव्यक्ति स्वतन्त्रता नै हनन् गर्ने भन्दै आलोचना भइरहेको छ।
यस विधेयकले स्वतन्त्रता कुण्ठित गर्ने, आलोचनात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउने र नागरिक अधिकारमाथि नियन्त्रण लगाउन खोजिएको विज्ञप्तिमा भनिएको छ।
‘संसदीय व्यवस्थामा संख्यात्मक बहुमतको आडमा नागरिक स्वतन्त्रता संकुचित पार्ने खालका विधेयक पारित गर्न खोज्नु लोकतन्त्रकै भद्दा मजाक हो,’ रास्वपाले भनेको छ, ‘सरकार नागरिक अधिकारमाथि अंकुश लगाउने नियतले यस्ता कानुनी प्रावधान ल्याउने र त्यसलाई संसदमा संख्या देखाएर पारित गर्नतर्फ अघि बढ्ने हो भने, राष्ट्रिय स्वतन्त्र पार्टीले यसलाई लोकतन्त्रको दुरूपयोगका रूपमा व्याख्या गर्नेछ।’