समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ।
बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समिति बैठकले चैत्र पहिलो साता मधेसमा जनप्रदर्शन सहितको कार्यक्रम गर्ने निर्णय गरेको नेता खड्गबहादुर विश्वकर्माले बताए।
फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय पनि भएको छ।
समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरूलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको उनले जानकारी दिए।
बैठकले वर्तमान सरकार गणतन्त्रविरोधी रूपमा देखिएको निस्कर्ष निकालेको छ।
बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरूलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको उनले बताए।
बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, सिके राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय गरेको छ।
(न्युज एजेन्सी नेपाल)