नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले मुलुकका पुराना राजनीतिक दलहरूसँग पार्टीले एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन्।
बुधबार कीर्तिपुरमा पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै भट्टराईले पुराना दलहरू सुध्रने अवस्थामा नरहेको बताए।
‘हामीले जुन वैकल्पित शक्ति निर्माण गरेका छौं त्यसमा केही बाँगोटिंगो भयो। हामीले बेइमानहरूसँग सहकार्य गरेर ठगिएका मात्र हौं,’ उनले भने, ‘हामीले अरु केही गल्ती गरेका होइनौं। हामीले सिद्धान्त र विचार छोडका होइनौं। खाली के हो भनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही काम बाँकी पनि छन्। राजावादीहरुले त्यसलाई मन पराएका छैनन्। अर्को हाम्रो ठूलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन।’
यस्तो बेलामा गडबडी भइरह्यो भने यही पनि गुम्छ कि भनेर पुराना दलहरूलाई साथ दिएको उनले बताए।
‘तर हामीले एकता भनेका छैनौं। बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग मिल्ने कहिले भनेकै छैन, सहकार्य गरेको हो,’ उनले भने।
मधेसवादी र क्षेत्रीय दलहरू समेत आन्दोलनबाट आएको हुनाले सहकार्य गरेको उनले बताए।
‘माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु। त्याभित्र भएको संकट तपाईंले देख्नुभएकै छ। जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ,’ उनले भने, ‘उहाँले बेला बेला म्याउँ गरिराख्नुभएको छ। बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरूसँग हामीले सहकार्य गरेका हौँ तर उनीहरू हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे।’
उनले पुरानाहरू सँगको सहकार्य सफल र उपयोगी नभएको पनि बताए।
‘यसबाट पाठ सिकेर पुराना सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन। वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)