नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलनले पार्टी र सरकारलाई मार्गनिर्देशन गर्ने अपेक्षा लिएको बताएका छन्।
केन्द्रीय सदस्य उर्मिला थपलिया (सीता) नेतृत्वमा रहेको पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले बुधबार सानेपामा गरेको नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले सम्मेलनको निष्कर्षले पार्टी र सरकारलाई मार्गनिर्देशन गर्ने विश्वास लिएको बताएका हुन्।
‘यस सम्मेलनको छलफलबाट आएका निष्कर्षबाट एउटा कार्ययोजनाको खाका तय गर्न हाम्रो पार्टीलाई मात्र नभई सरकारलाई पनि मार्गनिर्देशन गर्ने अपेक्षा मैले लिएको छु,’ सभापति देउवाले भने।
सभापति देउवाले गाउँगाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए।
‘गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्नेछ,’ उनले भने, ‘पछिल्लो समय स्टार्टअपमा आकर्षण बढ्दो छ, युवा पुस्ताले थौरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन्।’
सभापति देउवाले उद्यमीहरूले भोग्नुपरेको कानुनी र प्रक्रियागत झन्झट हटाउन सरकारले हालै अध्यादेशमार्फत् कानुनमा सुधार गरेको पनि बताए।
कांग्रेसले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धनसमेत गर्ने हेतुले यो सम्मेलन गरिएको जनाएको छ।
सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनीमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारीसमेत गराउनेछन्।
दुई दिनसम्म चल्ने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्रमार्फत साना तथा मझौला व्यवसायसम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरूबीच छलफल पनि हुनेछ।