नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दुई भ्रातृ संगठनका अध्यक्षहरूलाई अन्तरपार्टी निर्देशनबाटै जिम्मेवारीमुक्त गरेका छन्।
उनले युवा संघ नेपाल र अनेरास्ववियुका केन्द्रीय अध्यक्षहरूलाई जिम्मेवारीमुक्त गरेका हुन्।
अन्तरपार्टी निर्देशनमा अरू भ्रातृ संगठनका नेताहरूलाई वैशाखसम्म अधिवेशन गर्ने र कार्यवाहक तोक्ने अधिकार दिइए पनि विद्यार्थी संगठन अनेरास्वियुका अध्यक्ष आरती लामा र युवा संघ नेपालका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई भने अपानीबाटै हटाइएको हो।
लामा र विश्वकर्मा दुवै पार्टी महासचिव घनश्याम भूसालनिकट मानिन्छन्।
गत महाधिवशेनमा पनि उनीहरूले भूसाललाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर लबिइङ गरेका थिए। अनेरास्ववियु अध्यक्ष लामाले एक व्यक्ति एक पद राख्ने पार्टीको निर्णयलाई आफूहरूले सम्मान गर्ने भएतापनि अरूलाई अधिवेशन गर्ने समय दिइनु र आफूहरूलाई नदिइनुको कारण बुझ्न नसकेको बताइन्।
‘विधि,पद्दति भनेर नै पार्टी बनाएका हौं,’ लामाले सेतोपाटीसँग भनिन्,‘अहिले हामीमाथि नै प्रहार भएको छ। पार्टीमा यो कुरा गम्भीर रूपमा नै उठाउँछौं।’ नेकपा एकीकृत समाजवादीले विश्वकर्मालाई म्याग्दी जिल्लाको ईन्चार्ज र लामालाई सर्लाही जिल्लाको सहईन्चार्ज तोकेको छ।
युवा संघको अध्यक्षमा विश्वकर्मा छनौट भएपछि अर्का नेता नितेश पौडेलले समानान्तर समिति बनाएका थिए। पौडेल लामो समय अध्यक्ष नेपालको सचिवालयमा बसेर काम गरेका नेता हुन्।
‘हामीले पार्टीको हित विपरित कुनै काम गरेका थिएनौं। एजेण्डामा एक ठाउँमा भएर पार्टीका लागि काम गरेका हौं,’ उनले भने,‘आज पार्टीमा छलफल गरेर अब के गर्ने भन्नेबारेमा एउटा निष्कर्षमा पुग्छु,’ उनले भने। उनले जहाँ भए पनि अन्याय भने नसहने बताए।