सत्तारूढ दलहरूको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढी भन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय गरेको छ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरूपमा एउटै आवाज उठाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रूपमा लिएको बताए।
‘यो बैठकको मुख्य उद्देश्य भनेको १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान भएको छ। हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा थियो,’ उनले भने।
उनले यसले निजी क्षेत्रलाई उत्साहित बनाएको र यसबारे पनि छलफल भएको बताए। सत्तारूढ दलहरूमा यसबारेमा कुनै समस्या नरहेको पनि उनको भनाइ थियो।
‘सरकारले अध्यादेश जारी गरेको छ। अध्यादेशले आम रुपमा एउटा सकारात्मक सन्देश संप्रेषण गरेको छ। निजी क्षेत्रलाई उत्साहित बनाएको छ। यसमा पनि छलफल भएको छ। सत्तारुढ दलमा यसमा कुनै कन्फ्युजन छैन,’ उनले भने, ‘संसदमा सिंगो सत्तापक्ष एकरूपताका साथ अघि बढ्ने। हामीले शालिनताका साथ संसदलाई रचनात्मक र सिर्जनात्मक ढंगबाट अघि बढाउन, संसदलाई बढी भन्दा बढी कानून निर्माणको थलोका रूपमा विकास गर्न छलफल भएको छ।’
उनले १८ गतेको संसदको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने पनि बताए।
—न्युज एजेन्सी नेपाल