नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गरेका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार रहेको र संसदमा झन्डै दुई तिहाइ मत रहेको सरकारले अध्यादेश ल्याउनु ठिक नभएको उनले बताए।
केपी शर्मा ओली नेतृत्वको सरकारले ६ वटा अध्यादेश ल्याउन सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका थिए।
सरकारले कानुनमा सुधारका लागि अध्यादेश ल्याउनुपरेको बताइरहे पनि सत्तारूढ कांग्रेसका नेता कोइरालाले भने अध्यादेशको विरोध गरिरहेका छन्।
सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएको भन्दै विरोध गरेका हुन्।
‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरूरी थिएन। अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ विराटनगरमा नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार गरेको कार्यक्रममा कोइरालाले भने, ‘संसदमै पेस गर्दा पनि कांग्रेस र एमाले मिल्दा झन्डै दुई तिहाइको संख्या छ। सजिलै पास हुन्थ्यो। संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठिक भएन।’
उनले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको पनि बताए।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको उनको भनाइ थियो।