दाङ तुलसीपुर उपमहानगरपालिकाले पहिलो पटक आधिकारिक रूपमै नगर प्रहरी नियुक्त गरेको छ।
सोमबार ४० दिनको तालिम पछि नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नगर प्रहरी प्रमुख नायव निरीक्षक ऋषिराज पछाइसहित १५ जना नगर प्रहरीलाई दिक्षान्त समरोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
पछाई नेतृत्वको टोलीमा नगर असई सञ्जय गिरी, नगर हवल्दारद्धय बिष्णु चौधरी र बिनोद रेउलेसहित ११ जना नगर प्रहरी जवान छन्।
अब तुलसीपुरले उनीहरूका लागि सेवा सुविधा बापत मासिक चार लाख रुपैयाँ अतिरिक्त खर्च बेहोर्नु पर्ने भएको छ। वार्षिक झन्डै आधा करोड उनीहरूको सेवा सुविधाका लागि खर्च गर्नु पर्ने भएको छ। नगर प्रहरीको सेवा सुविधा पद अनुसार नेपाल प्रहरी समान हुन्छ।
नगर प्रहरीलाई ४० दिने प्राथमिक कवाज तालिम इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठको टोलीले दिएको थियो।
तुलसीपुरस्थित सशस्त्र प्रहरीको टोलीले पनि उनीहरूलाई तालिम दिएको थियो। ४० दिने तालिममा दश लाख जति खर्च भएको स्रोतले जानकारी दिएको छ।
आफ्नै नगरी प्रहरी राख्नेबारे पूर्व मेयर घनश्याम पाण्डेकै पालमा ऐन तयार भएको थियो। अहिलेका मेयर टीकाराम खड्काले त्यही ऐनमा टेकेर नगर प्रहरी भर्ना गरेका हुन्।