प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।
सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो।
माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू हुँदैछ। त्यसअघि सत्ता गठबन्धन दलहरूबीच कुराकानी गरेर एकढिक्का भई अघि बढ्ने विषयमा बालुवाटारमा छलफल भएको हो।
प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामकारबाहीबारे बैठकमा छलफल भएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव र संसदीय दलका प्रमुख सचेतक पनि सहभागी छन्।
बैठक सुरू गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताए।
संसदलाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरुको प्रभावकारी भूमिका आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।