नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले पार्टीले सार्वभौम सांसदलाई नियन्त्रणमा राख्न नमिल्ने बताएका छन्।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकमा बोल्दै उनले केही गुनासा र असन्तुष्टि भए आन्तरिक बैठकमा राख्न र संसदमा प्रस्तुत नगर्न भनेर पार्टीले भन्न नमिल्ने तर्क गरेका हुन्।
कांग्रेसले सरकारका कामकारबाही र अध्यादेशबारे केही असन्तुष्टि भए संसदीय दल बैठकमै कुरा राख्न आग्रह गरेकोमा सांसद बजगाईले सार्वभौम सांसदले संसदमा पनि कुरा राख्न पाउने बताएका हुन्।
‘सांसद पार्टीका मात्र नभई जनताका पनि प्रतिनिधि हुन्,’ उनले भने, ‘सांसदलाई सरकारका कामकारबाही र मन्त्रीहरूका विरूद्ध सार्वजनिक रूपमा बोल्न नदिने भन्ने कुरा स्वीकार्य हुँदैन। सांसद पनि सार्वभौम हुन्छन्।’
उनले पार्टी अधिनायकवादी बन्न नहुनेमा जोड दिए। ‘बोल्न रोक्ने हो भने त चिनियाँ शैली अपनाएको जस्तो हुनेछ,’ उनले भने, ‘मलाई विश्वास छ, लोकतन्त्रका लागि लड्नुभएको सभापति शेरबहादुर देउवाले पार्टीलाई यस दिशामा जान दिनु हुने छैन।’
उनले पार्टी नेतृत्वको गल्तीबारे सार्वजनिक रूपमा प्रश्न र आलोचना गर्न पाइने बताए। कम्युनिष्टभन्दा कांग्रेस यस्तो मामिलामा उदार रहनुपर्ने उनको भनाइ थियो।
सांसद बजगाईले महामन्त्री गगन थापाले पार्टी नेतृत्वको आलोचना गर्दै राजनीतिक करिअर निर्माण गरेको र सभापति देउवाले पनि कोइराला परिवारविरूद्ध विद्रोह गरेर राजनीतिक करिअर बनाएको बताएका थिए।