नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले नेपालीहरू पनि प्रभावित हुने देखिएको बताएका छन्।
हजारौं नेपालीहरू कतिबेला नेपाल फर्कनुपर्ने हो टुंगो नभएको प्रचण्डको भनाइ छ।
त्यसैले नेपालमै पौरख गर्न उनले आग्रह गरे।
तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको सोमबार उद्घाटन गर्दै अध्यक्ष दाहालले भने, ‘विदेशमा पनि टुंग्गो छैन। काहाँ के हुने हो। अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित गरिँदै छ। कतिबेला हजारौं नेपालीहरू फर्केर नेपाल आउनुपर्ने हो टुंग्गो छैन।’
साथै प्रचण्डले मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरू फर्किन पर्ने हो टुंग्गो नभएको बताएका हुन्।
उनले आफ्नै देशको माटोमा पौरख गर्न पनि आग्रह गरेका छन्। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गर्नुपर्ने दाहालले बताए।
उनले युवा जनशक्ति विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका थिए।
देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृतिका कारण विदेश जाने प्रवृति बढ्दै गएको उनले बताए।
‘मलाई कता कता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको हो कि, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो कि भन्ने चिन्ता लागेको छ,’ उनले भने।