नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न रहेकाहरूमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गरेको हो।
सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने, धम्की दिने र थप समाचार लेख्नै नदिने हर्कत भएको भन्दै महासंघले यस्तो गतिविधि गर्नेमाथि राज्यबाट कुनै कारबाही नगर्नुले प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख गरेको हो।
‘महासंघले गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन गृहमन्त्रीसमक्ष अनुरोध गर्दछ,’ महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको माग पत्रमा भनिएको छ।
सो प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले गोपाल दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ।
खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले 'हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान' शीर्षकमा समाचार लेखेका थिए।
साम्पाङले नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरू गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिए पनि धरानको विकासका लागि श्रमदानमार्फत् संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेको समाचारको विषय बनेको मात्र होइन स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शीताको गम्भीर प्रश्न उठेकाले यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने पनि औंल्याएको छ।
गृहमन्त्री रमेश लेखकले महासंघको मागप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दे प्रेस स्वतन्त्रता हननमा संलग्नहरूलाई राज्यले कानुनी दायरामा ल्याउने बताएको महासंघले जनाएको छ।