प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक नेपाली कांग्रेसले आफूलाई पूरा सहयोग गरिरहेको बताएका छन्।
सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसबाट पूरा सहयोग मिलेको बताएका हुन्।
‘पूर्वसहमतिअनुसार कांग्रेसबाट पूरा साथ पाएको छु, भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि पूरा साथ रहने स्पष्ट पार्छु,’ प्रधानमन्त्री ओलीले भने।
गत असार १७ मा भएको ७ बुँदे सहमतिमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो।
प्रधानमन्त्री ओलीले माघ १८ देखि सुरू हुने संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका रूपमा प्रयोग गरिने पनि बताए। उनले छिट्टै संविधान संशोधन हुने पनि बताए।
‘सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्छ,’ उनले भने। केही समयअघि एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले संविधान संशोधन २०८७ सालमा हुने अभिव्यक्ति दिएपछि कांग्रेसलगायत दलहरूका केही नेताहरूले प्रश्न उठाएका थिए।
प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन्।
उनले सरकारले विकासको अगुवाइ गर्ने पनि बताए। ‘सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन,’ उनले भने, ‘कांग्रेस-एमालेले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्। यसमा ढुक्क भए हुन्छ।’
यो पनि: खोक्न पाएको छैन, आइसियुमा बसेको फोटो देखाउँछन्: प्रधानमन्त्री ओली