कोलम्बियाले आप्रवासी बोकेको अमेरिकी सैन्य जहाजलाई अवतरणका लागि अनुमति दिएको छ।
ह्वाइट हाउसले आइतबार राति वक्तव्य जारी गर्दै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आप्रवासी बोकेको सैन्य विमानलाई अवतरण गर्न अनुमति दिएको जनाएको हो।
पेट्रो सबै शर्त स्वीकार गर्न तयार भएको जानकारी पनि ह्वाइट हाउसले वक्तव्यमार्फत दिएको छ। 'राष्ट्रपतिको चेतावनीपछि सवै शर्त मान्न पेट्रो तयार भएका छन्,' ह्वाइट हाउसले वक्तव्यमा भनेको छ।
कोलम्बियाको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर अमेरिकी सैन्य जहाज अवतरण गर्न दिने तर जहाजभित्र आफ्ना नागरिकहरूमाथि अमर्यादित व्यवहार नगर्न भनेको थियो।
सहमति भएपनि ट्रम्पले तत्कालका लागि भिसासम्बन्धी प्रतिबन्धहरू भने पहिलो अवतरणपछि मात्रै फिर्ता लिने भनेका छन्। कर बढाउने विषय तत्कालका लागि हटाइएको छ।
अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका कोलम्बियन आप्रवासीहरू बोकेर गएको विमानलाई राष्ट्रपति पेट्रो अवतरणमा रोक लगाएका थिए।
राष्ट्रपति पेट्रोले आप्रवासीहरूलाई अपराधीसरह व्यवहार गरेर सैन्य जहाजमा नभई सम्मानका साथ नागरिक उड्डयनको विमानमा ल्याउनुपर्ने बताएका थिए। त्यसरी ल्याइए अवतरण गर्न दिने सैन्य जहाजमा ल्याए अवतरण गर्न नदिने भनेपछि दुई देशबीच तनावको स्थिति देखा परेको थियो।
सैन्य जहाज कोलम्बियामा अवतरण गर्न रोक लगाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा तत्काल २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। त्यसलाई एक सातामा पचास प्रतिशत पुर्याउने धम्की दिएका थिए।
कोलम्बियाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा तत्काल २५ प्रतिशत कर लगाउन त्यहाँको वाणिज्य विभागलाई निर्देशन दिएको थियो। उनले पनि कर ५० प्रतिशत बढाउने चेतावनी ट्रम्पलाई दिएका थिए।
त्यसपछि दुई देशका राष्ट्रपतिबीच ट्वीटरमा भनाभनसमेत भएको थियो।
'कोलम्बियाले पनि आयातमा त्यही नीति लिएको छ, जुन तपाईले लिनुभएको छ,' ट्रम्पलाई सम्बोधन गर्दै कोलम्बियाका राष्ट्रपति गुस्ताभोले एक्समा लेखेका छन्।
जबाफमा ट्रम्पले कोलम्बियाविरुद्ध बैंकिङ र वित्तीय प्रतिबन्धहरू लगाउने तथा कोलम्बियाका सरकारी अधिकारीको भिसा रद्द गर्ने र आफ्ना नागरिकहरूलाई कोलम्बियामा यात्रा प्रतिबन्ध लागू गर्ने भनेका छन्।
कोलम्बियाका राष्ट्रपति गुस्ताभोले ट्रम्पको उक्त निर्णयको जबाफमा ट्रम्पलाई कोलम्बियाको स्वतन्त्रता मन नपरेको भनेका छन्।
'तपाईंलाई हाम्रो स्वतन्त्रता मन परेको छैन। ठीक छ हामी पनि गोरा दासहरूसँग हात मिलाउने छैनौं,' गुस्ताभोले लेखेका छन्।
राष्ट्रपति ट्रम्पले शपथ ग्रहणलगत्तै अमेरिकामा रहेका अवैध आप्रवासीहरूलाई उनीहरु जहाँबाट आएका हुन् त्यहाँ फिर्ता गर्ने काम तीव्र गतिमा हुने भनेका थिए।
सोही अनुसार आइतबार कोलम्बियाका आप्रवासी लिएर अमेरिकी सेनाको विमान कोलम्बिया पुगेका थिए।
कोलम्बियाका राष्ट्रपति गुस्ताभोले आप्रवासीहरूलाई सैनिक विमानमा अपराधीसरह ल्याइएको भन्दै अवतरण गर्न रोक लगाएका थिए।
उनले नागरिक विमानमा ल्याए फिर्ता लिन कोलम्बिया तयार रहेको बताउँदै आप्रवासीहरूलाई सम्मानका साथ फिर्ता ल्याउनुपर्ने बताएका थिए।
कोलम्बिया उसको तेस्रो ठूलो व्यापारिक साझेदार पनि हो। ल्याटिन अमेरिकामा सबैभन्दा राम्रो सम्बन्ध भएको देश पनि हो।
कोलम्बियामाथि त्यस प्रकृतिको नीतिले ट्रम्प आप्रवासी फिर्ता गर्ने निर्णयमा कतिसम्म गम्भीर छन् र कुन हदसम्म जान सक्छन् भन्ने देखाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।