पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति उच्च अदालत पुगेका छन्।
कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो।
सोमबार उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएका हुन्।
पोखरा उच्च अदालतका सूचना अधिकारी उप-रजिस्ट्रार निलप्रसाद पनेरूले निवेदन दर्ता भएको जानकारी दिए।
यसअघि लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेर जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो।
सूर्यदर्शन सहकारीको मुद्दामा अदालतले गरेको आदेशबारे आएका निवेदनहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ हुने उप-रजिस्ट्रार पनेरूले बताए।
'प्रतिवादीका तर्फबाट यो पहिलो निवेदन हो। सरकारी वकिलको निवेदन, प्रतिवादीको निवेदन र पछि आउने निवेदनहरूलाई सँगै राखेर सुनुवाइ हुन्छ,' उनले भने।