कर्णाली प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले आइतबारको बैठक अवरूद्ध गरेको छ।
आइतबारको प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको पाँचौं बैठकमा माओवादी केन्द्रले आपत्ति जनाएर अवरोध गरेको हो।
संसदीय दलका नेता राजकुमार शर्माले आफू नेतृत्वमा हुँदा कर्णाली समृद्धिको परियोजनाअन्तर्गत १० हजार जनालाई रोजगारी दिने लक्ष्यसहित अघि सारिएको कार्यक्रममा सरकारले वास्ता नगरेको भन्दै आपत्ति जनाएका हुन्।
व्यक्तिगत र दलगत रूपमा समझदारी गरिएको उक्त विषयलाई सरकारले वर्तमान सरकारले बेवास्ता गरेको उनले बताए।
‘कर्णालीका भोका नागरिकलाई राजेगारी दिने लक्ष्य अनुसार वार्षिक दश हजारलाई राजगारी दिने गरी अघि सारिएको कार्यक्रममा भएको बजेटलाई सरकारले अन्यत्र घुमाएको छ,’ उनले भने।
संसद चल्न नदिने भन्दै माओवादी सांसदहरूले उभिएर विरोध जनाएपछि संसद आधा घण्टाको लागि स्थगित भएको छ।
यसपछिको बैठकका विषयमा संसदीय दलहरूबीच छलफल भइरहेको कर्णाली प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए।
आइतबारको संसद बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गर्ने, कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गर्न प्रस्ताव राख्ने कार्यसूची थियो।