नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब जो प्रधानमन्त्री बने पनि युवाहरूलाई नयाँ अवसर सिर्जना गर्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्।
मीनकुमारी राणा प्रतिष्ठानले गरेको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले लाखौं मानिसलाई नयाँ अवसर कसरी सिर्जना गर्ने भन्नेमा अबको प्रधानमन्त्रीको ध्यान हुनुपर्ने बताए।
‘यो व्यवस्था हामी तलमाथि हुन दिन्नौं,’ उनले भने, ‘देश चलाउँछु भन्ने मान्छेले पढेका मानिसहरूलाई नेपालमै गरिखान सक्ने व्यवस्थाका लागि प्रतिस्पर्धा गर्नुपर्छ।’
लाखौं मानिसलाई नयाँ अवसर कसरी सिर्जना गर्ने भन्नेमा प्रधानमन्त्री हुनेले सोच्नुपर्ने उनले बताए।
महामन्त्री थापाले २०८४ को आमचुनावको अहिले नै चर्चा आवश्यक नभएको भन्दै अवधिमा काम गर्नुपर्ने बताए।
‘२०८४ को चुनावमा जाने बेलासम्म बिपीले १८ महिनामा गरेकोभन्दा धेरै, गिरिजाप्रसादले तीन महिनामा गरेकोभन्दा झन् धेरै वा मनमोहनले ९ महिनामा गरेकोभन्दा धेरै र राम्रा काम गरेर आउँछौं भन्ने अवस्था भयो भने पो देश ठिक ठाउँमा जाला, जिम्मा लिएकोले काम नगर्ने हो भने काम कसले गर्ने हो?,’ उनले प्रश्न गरे, ‘संघ, प्रदेश र ३३० पालिका प्रमुख र वडाध्यक्ष कांग्रेस हुने अनि अरूले जस्तै गनगन गर्न पाइँदैन।’