नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
उनको हकमा श्रीमती मञ्जु पाण्डेले शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
आइतबार सचिव पाण्डेको रिट निवेदन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको थियो।
तर रिट प्रधानन्यायाधीशले हेर्न नमिल्नेमा राखेका छन्। अर्को पेसी सोमबारका लागि राखिएको छ।
बन्दीप्रत्यक्षीकरणको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाइएको छ।
२०८० असार १ गते जिल्ला अदालत काठमाडौंले उनीसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनी पनि मुझिएका थिए।
उनीहरूविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो। उच्च अदालत पाटनले पनि २०८० मंसिर १५ गते पाण्डे, पूर्व उपप्रधान एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राईसहितलाई पुर्पक्षको लागि थुनामै राख्न आदेश दिएको थियो।