राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देही अदालत उपस्थित भएका छन्।
आइतबार लामिछाने अदालत उपस्थित भएका हुन्।
लामिछाने आइतबार बिहान १०:२५ मा कानुन व्यवसायीको साथमा अदालतमा उपस्थित भएका हुन्। सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरूद्ध मुद्दा छ।
गत आइतबार दर्ता भएको मुद्दा उपर जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको थियो। अब लामिछाने पक्षका पाँच जना कानुन व्यवसायीले बहस गर्नेछन्।
अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनीता राउत, राजेन्द्र सेढाई सहितका कानुन व्यवसायीले बहस गर्ने भएका हुन्।
त्यसपछि सरकारी वकिलले जबाफी बहस सकेर न्यायाधीशले फैसलाको निर्णय गर्नेछन्। लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएपछि न्यायाधीश योगीले बयान लिएर परिवार र उनका कानुन व्यवासायीको जिम्माजमानीमा छोडेका थिए।
लामिछाने बिहीबारदेखि नै हिरासत बाहिरै बसेर अदालतमा उपस्थित भइरहेका छन्। जिल्ला अदालत कास्की र काठमाडौंमा दर्ता भएका यसअघिका मुद्दामा भने लामिछानेलाई अदालतले हिरासतमा राख्न आदेश गरेको थियो।
सोही अनुसार हिरासतमै बसेर बहसमा उपस्थित भएका थिए।
थुनछेक बहसपछि बल्ल अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो। लामिछानेले कास्कीमा ६५ लाख र काठमाडौमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए। लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको भन्दै सरकारी वकिलले बहसमा प्रश्न उठाएका थिए।
रूपन्देहीमा पनि आइतबार नै थुनछेक बहस सकिने सम्भावना छ। बिहीबार र शुक्रबार सरकारी वकिल र लामिछाने पक्षका तीनजना कानुन व्यवसायीले बहस गरेका थिए। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, सहितका ३ जनाले बहस गरेका थिए।
सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेलसहित ८ जनाले बहस गरेका छन् भने सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका छन्।