गजामा युद्धविराम घोषणा भएको एक साता बित्न लाग्दा हमासले ४ जनालाई बन्धकमुक्त गरेको छ।
शनिबार हमासले चार इसराइली युवतीलाई बन्धकमुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।
बन्धकमुक्त हुनेमा करिना एरिएभ, ड्यानियला जिल्बोआ, नामा लेभी र लिरी अलबाग छन्। लिरी १९ वर्षकी छन्। बाँकी तीनै जना २० वर्षका छन्।
उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएका थिए। रेडक्रसले इसराइली डिफेन्स फोर्स (आइडिएफ)को जिम्मा लगाएको छ।
आइडिएफले बन्धकमुक्त हुनेहरूको परिवारलाई खबर गरेका थिए।
हमासले बन्धक रिहा गरेपछि इसराइलले पनि प्यालेस्टिनीहरूलाई कैदमुक्त गरेको छ।
इसराइल र हमासबीच गत आइतबार युद्धविराम भएको थियो। त्यसदिन हमासले तीन जनालाई बन्धकमुक्त गरेको थियो भने इसराइलले जेलमा रहेका ९० जनालाई कैदमुक्त गरेको थियो।
पहिलो चरणको युद्धविराम ४२ दिनको हुने भनिएको छ। सो अवधिमा हमासले ३३ जना बन्धक छाड्ने सम्झौता भएको छ भने इसराइलले २००० भन्दा बढीलाई कैदमुक्त गर्नेछ।
हमासले प्रत्येक साता चार जना बन्धक रिहा गर्नेछ। सोही आधारमा इसराइलले प्यालेस्टिनीहरूलाई जेलबाट छाड्नेछ।
पहिलो चरणको युद्धविरामकै अवधिमा दोस्रो चरणको युद्धविरामका लागि मध्यस्तकर्ताहरुले छलफल गर्नेछन्।
युद्धविराम तीन चरणमा हुने भनिएको छ।