नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयमा दलीय भागबन्डा स्वीकार्य नरहेको बताएका छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति जारी गरेर विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग तथा अन्य निकायमा दलीय भागबन्डाका आधारमा डीन, निर्देशक, सह परीक्षा नियन्त्रक र क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै त्यसबारे विरोध जनाएका हुन्।
दलीय भागबन्डामा नियुक्त गरिएको विषयमा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको पनि अध्यक्ष शेर्पाले उल्लेख गरेका छन्।
‘योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न विभिन्न कार्यविधि, मापदण्ड, नियमहरू तर्जुमा एवं संशोधन भएकोमा कानूनको छिद्रहरूबाट आफ्नो दलीय स्वार्थ पुरा गर्ने परिपाटी अझै अन्त्य नहुनुले नेविसंघ सशक्त ढंगले निर्णायक आन्दोलनमा होमिनुपर्ने अवस्था आएको अध्यक्ष शेर्पाले बताएका छन्।
‘परिवर्तनको ऊर्जाले मात्रै विश्वविद्यालयहरू समयानुकूल परिस्कृत हुन सक्छन्, पुरातनवादी पुर्जाले होइन भन्ने तथ्य सरोकारवाला निकायहरूले हेक्का राख्न नसक्नु विडम्बना हो तसर्थ विश्वविद्यालयलाई राजनैतिक र निहित स्वार्थको प्रयोगशाला बनाउनु खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।
नेविसंघले प्रतिस्पर्धाको नाममा राज्यको ढुकुटी लुटाउँदै अस्वच्छ र अपारदर्शी विधि अवलम्बन गरी नियुक्त हुने, नियुक्त गर्ने र निम्न स्तरको स्वेच्छाचारी कार्यविधि निर्माण गर्नेहरूबाट विश्वविद्यालयहरूको गुणात्मक रूपान्तरण नहुने बताएको छ।
‘तसर्थ विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीहरू एकजुट भएर प्राज्ञिक नेतृत्वको लागी पहल गर्न नेपाल विद्यार्थी संघ हार्दिक आह्वान समेत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।