नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षका लागि मनोनयन दर्ता गराएका योगेन्द्रबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका छन्।
शनिबार हुने मतदानका लागि शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि बुढाले विज्ञप्ति जारी गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।
उनले अध्यक्षबाट आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार विजयप्रकाश सापकोटालाई समर्थन गर्ने घोषणा गरेका छन्।
'राष्ट्रिय सम्मेलनबाट नेतृत्व निर्माणका क्रममा संगठनमा सापेक्षित केन्द्रीकरण पैदा गर्ने उद्देश्यले मैले मेरो उम्मेदवारी फिर्ता लिई अध्यक्षका उम्मेदवार कमरेड विजयप्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने निर्णय गरेको छु,' उनले भनेका छन्।
बुढा केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा निकटका हुन्। उनले समर्थन गरेका सापकोटा उपमहासचिव शक्ति बस्नेत निकटका हुन्। यसअघि अध्यक्षका अर्का उम्मेदवार विश्वमणि थापाले पनि उम्मेदवारी फिर्ता लिएका थिए। थापा उपाध्यक्ष पम्फा भुसाल निकट हुन्।
दुई प्रत्यासीले उम्मेदवारी फिर्ता लिएपछि अब क्रान्तिकारीको अध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ निकटका उपदेश यादव, उपमहासचिव बस्नेत निकटका विजय सापकोटा, वर्षमान पुन निकटका सुदिन पौडेल र जनार्दन शर्मा निकटका हेमन्त राईको उम्मेदवारी कायम छ।
मनोनयन दर्ताको अघिल्लो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अध्यक्षका आकांक्षीहरूलाई खुमलटार बोलाएर सहमतिमा नेतृत्व टुंग्याउने विषयमा छलफल गरेका थिए।
सहमति नजुटेपछि अध्यक्ष प्रचण्डले चुनावबाटै नेतृत्व टुंग्याउन निर्देशन दिएका थिए। यद्यपि विद्यार्थीको चुनावमा पार्टीको कुनै पनि पदाधिकारीले हस्तक्षेप नगर्ने भनेका थिए। त्यसका बाबजुद क्रान्तिकारीमा पार्टीका नेतैपिच्छेबाट उम्मेदवार खडा गरिएका थिए।
अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय सहित कुल ३१२ पदका लागि शनिबार मतदान हुनेछ।
यो पनिः