प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा दुई गाउँपालिका भवनको बालुवाटारबाटै उद्घाटन गरेका छन्।
शुक्रबार पाल्पाको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको प्रधानमन्त्री ओलीले भर्चुअल रूपमा उद्घाटन गरेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली यी भवन उद्घाटन गर्न शुक्रबार पाल्पा जाने कार्यक्रम भए पनि चिकित्सकहरूको सुझावका आधारमा उनी भौतिक रूपमा कार्यक्रममा सहभागी भएका थिएनन्।
प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै इच्छा भए पनि स्वास्थ्यले साथ नदिएका कारण आउन नसकेको बताएका थिए।
प्रधानमन्त्री ओलीले पाल्पा उर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गरेका थिए।
साथै प्रधानमन्त्री ओलीले बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ भएको बताएका थिए।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनतालाई अझ राम्रो गरी सेवा र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरेका थिए।
उनले सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने पनि बताएका थिए।
साथै उनले खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा गरेका थिए।