नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि पहल गर्ने बताएका छन्।
शुक्रबार दाङ पुगेका प्रचण्डले व्यवसायीहरूसँगको भेटमा विमानस्थल स्तरोन्नतिका लागि पहल लिने बताएका हुन्।
तुलसीपुर उद्योग वाणिज्य संघ विनिल केसी नेतृत्वको टोलीले शुक्रबार बिहान प्रचण्डलाई भेटेर विमानस्थल स्तरवृद्धिका लागि ध्यानाकर्षण गराएका थिए।
उनीहरूले यसअघि माओवादीकै नेताहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदा पहल नगरेको गुनासो पनि अध्यक्ष प्रचण्डलाई सुनाएका थिए।
जबाफमा प्रचण्डले यसअघि राजनीतिक खिचातानीका कारण विमानस्थल विस्तारको काम रोकिएको बताउँदै अब आफूले पहल लिने प्रतिबद्धता व्यक्त गरे।
उनले दाङकै केही नेताहरूका कारण पनि ढिला भएको बताए।
'तुलसीपुरमा बनाउनु भन्दा अन्त बनाउन पाए हुन्थ्यो भन्ने चाहानाको राजनीतिले पनि यो डिले भइ राख्या हो,’ प्रचण्डले भने ‘ प्राबिधिकपनि केही कारण छन् तर मेन कारण राजनीति थियो। तर, अब चाँही विस्तारै टरिगाँउ एयरपोर्टका बारेमा राजनीतिक तहमा एक रुपता हुँदैछ,' प्रचण्डले भने।
अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले टरिगाउँ एयरपोर्ट बनाउन पहल भएको स्मरण गर्दै अब टरिगाँउ एयपोर्ट बिकासलाई कसैलेपनि रोक्न सक्ने स्थिति नरहेको उनले बताएका थिए। अब टरिगाँउ एयरपोर्टको बारेमा छिट्टै निष्कर्षमा पुग्ने उनले आश्वासन दिएका थिए।
बालरोष बिषेशज्ञ डा. किशोर खत्रीले पनि अध्यक्ष प्रचण्डलाई बाँके आएका जहाज मौसमका कारण अवतरण हुन नसक्दा सुर्खेत पुगेका घटनाहरूबारे जानकारी गराउँदै दाङमा मौसमका हिसाबले पनि अनुकूल हुने बताए।
व्यवसायीहरूले तुलसीपुर – घोराही चार लेन सडक निर्माणका बारेमापनि ध्यानाकर्षण गराएका थिए।
शनिबार घोराही र देउखुरीमा हुने कार्यक्रमका लागि प्रचण्ड दाङ पुगेका हुन्।
प्रचण्डसँगै उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इन्चार्ज चक्रपाणी खनाल, स्थायी समिति सदस्य रेखा शर्मा, जिल्ला इन्चार्ज निर्मल आचार्यलगायत नेताहरु तुलसीपुर आएका छन्।