नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भित्र चुनावको संघारमा विवाद उत्पन्न भएको छ।
शनिबार हुने निर्वाचनका लागि एउटा पदमा मनोनयन दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन हुँदा अर्कै पदमा नाम सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।
अखिल क्रान्तिकारीका एक नेताका अनुसार महासचिव पदका लागि रोशन खड्काले मनोनयन दर्ता गराएका थिए। तर निर्वाचन आयोगले उम्मेदवारको सूची सार्वजनिक गर्दा उनको नाम उपाध्यक्ष उम्मेदवारको सूचीमा देखिएपछि विवाद उत्पन्न भएको हो।
'उम्मेदवारको प्रारम्भिक सूचीमा पनि महासचिव पदका लागि खड्काकै नाम थियो। दाबी विरोधपछिको सूची प्रकाशन हुँदा उपाध्यक्ष पदमा भनेर आयो,' ती नेताले सेतोपाटीसँग भने।
यसले मतदानको संघारमा आइपुगेको क्रान्तिकारीको निर्वाचन बिथोल्न खोजेको एक पक्षको आरोप छ।
ती नेताका अनुसार खड्काले विजय सापकोटा प्यानलबाट महासचिवको उम्मेदवारी दिएका थिए। सोही प्यानलमा रहेका सञ्जयकुमार महतोले पनि महासचिवमै उम्मेदवारी दिएका थिए।
उम्मेदवारको नामावली सार्वजनिक हुँदा खड्काको नाम महासचिवबाट उपाध्यक्षको सूचीमा देखिएको छ।
ती नेताका अनुसार खड्कालाई उम्मेदवारी फिर्ता गर्न सो पक्ष र उमेरहदका कारण उम्मेदवार हुन नपाएका पक्षले बिहीबार दिनभरि जोडबल गरेका थिए। सहमति नभएपछि उनीहरुकै दबाबमा निर्वाचन आयोगले उनको नाम उपाध्यक्ष उम्मेदवारमा समावेश गरेको ती नेताले बताए।
'यो गलत हो। निर्वाचन आयोगको पनि कमजोरी देखियो,' यसबारेमा हामी प्रश्न उठाउँछौं,' उनले सेतोपाटीसँग भने।
अखिल क्रान्तिकारीको निर्वाचन आयोग प्रमुख मुक्ति प्रधानले दाबी विरोधअनुसार सूची प्रकाशन गरिएको बताए।
'त्यसमा आयोगको कमजोरी भन्न मिल्दैन। दाबी विरोध भएअनुसार सूची प्रकाशन गरेका हौ। अन्तिम सूची प्रकाशन हुन बाँकी नै छ,' उनले भने।
महासचिवमा उम्मेदवारी दिएको रोशन खड्काले भने आफूले सुरूमै उपाध्यक्षमा मनोनयन दर्ता गरेको बताए।
'सर्भर बेलाबेला डाउन भइरहेको थियो। अघिल्लो साँझ महासचिवका लागि मनोनयन फाइल सबमिट गर्दा दर्ता भएन भन्ने देखियो। भोलिपल्ट छलफलपछि उपाध्यक्षमा दिने निर्क्यौल भएर त्यसमै नाम दर्ता गराएँ तर नामावलीमा महासचिव पदका लागि भनेर सूचीआएछ,' उनले भने, 'बिहीबार फेरि छलफल गरेर उपाध्यक्ष नै बनाएका हौं।'
सो प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका सापकोटालाई उपमहासचिव शक्ति बस्नेतको समर्थन छ।
अध्यक्षका आकांक्षीहरूलाई खुमलटार बोलाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीको निर्वाचनमा हेडक्वार्टरको कुनै हस्तक्षेप नहुने भनेका थिए।
तर निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतले आ-आफ्ना पक्षबाट अध्यक्षको उम्मेवार बनाएका छन्।
उपदेश यादव माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकटका हुन्।
योगेन्द्र बुढालाई उपाध्यक्ष कृष्णबहादुर महरा र विश्वमणि थापालाई उपाध्यक्ष पम्फा भूसालको समर्थन छ।
माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी परेको थियो।