प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पाँच लाख धरौटीमा रिहा भएका छन्।
उनीविरूद्ध बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको थियो। जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार एमाले मोरङका जिल्ला कमिटी सदस्यसमेत रहेका पोखरेललाई प्राप्त प्रमाणका आधारमा धरौटीमा छोड्न मिल्ने अवस्था रहेको भन्ने आदेशमा उल्लेख छ।
उनीविरूद्ध सरकारी वकिलको कार्यालयले ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको थियो। बिहीबार बयान र थुनछेक बहसपछि उनी छुटेका हुन्।
चिकित्साशास्त्रको स्नातक (एमबिबिएस) पढ्नलाई नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप पोखरेलमाथि छ। उनी पुस २५ मा विराटनगरबाटै पक्राउ परेका थिए।
सार्वजनिक लेखा सभापति पोखरेलका स्वकीय सचिव रहेका पोखरेलको यो घटना त्यहीबेला सार्वजनिक भएको थियो, जतिबेला सभापति पत्नी अन्जला कोइराला सहकारी ठगी प्रकरणमा मुछिएर फरार थिइन्।
मोरङ धनपालथानको उमागौरी सहकारी ठगीमा पत्नीको नाम मुछिएपछि सभापति पोखरेलले आफू र परिवार जस्तोसुकै परीक्षा दिन पनि तयार रहेको अभिव्यक्ति दिँदै आएका थिए। त्यहीबेला स्वकीय सचिव पनि ठगी प्रकरणमा मुछिएपछि उनले स्वकीय सचिवलाई भने तत्कालै पदमुक्त गरेका थिए।