काठमाडौं महानगरपालिकाले ठमेलमा 'स्प्रिङ फेस्टिबल' गर्न चिनियाँ दूतावासलाई अनुमति नदिने भएको छ।
नेपालका लागि चिनियाँ दूतावासका डेप्युटी चिफ अफ मिसन वाङ सिनले 'स्प्रिङ फेस्टिबल' गर्न जनवरी २६ देखि फेब्रुअरी २५ सम्मको अनुमति माग गर्दै महानगरमा पत्र पठाएका थिए।
महानगरले उक्त पत्रमा जबाफ पठाउँदै ठमेलमा कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ।
मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार महानगरले दूतावासलाई बुधबार जबाफ पठाउँदै ठमेलमा कार्यक्रम गर्न अनुमति दिन नसकिने उल्लेख गरेको हो।
ट्राफिक व्यवस्थापनमा चुनौति रहने भन्दै महानगरले दूतावासलाई अनुमति नदिएको हो।
'ठमेलमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने हुँदा चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गरे सहजीकरण गर्न सक्छौं भनिएको छ,' उनले भने।
मेयर बालेन शाहले चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नु परेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।