परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतमा रेल दुर्घटनामा घाइते भएकाहरूको उपचारको प्रबन्ध मिलाउन आग्रह गरेकी छिन्।
मन्त्री राणाले बिहीबार बिहान भारतका लागि नेपाली राजदूत शंकर शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई फोन गरेर घाइतेहरूको उपचारका लागि समन्वय गरिदिन आग्रह गरेकी हुन्।
‘भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले निकै दुःख लागेको छ। यस दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा उहाँहरूका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘बिहीबार बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई फोन सम्पर्क गरी उद्धार र घाइतेहरूको स्वास्थ्य उपचारमा तदारुकताका लागि भारत सरकार र सम्बद्ध सरोकारवालाहरुसँग आग्रह गरेकी छु।’
भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पचोरानजिक महेजी र परधाडे स्टेशनको बीचमा बुधबार अपराह्न करिब ५ बजे भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको भारतीय मिडिया इन्डियन एक्सप्रेसले जनाएको छ।
मृत्यु हुने १३ जनामध्ये ४ जना नेपाली छन्। १० जनाभन्दा बढी घाइते र तीमध्ये चार जनाको अवस्था गम्भीर छ। घटनापछि अधिकारीहरूले चेकजाँचका क्रममा रेलभित्र आगलागी नभएको पुष्टि गरेका छन्।